इरानद्वारा हर्मुज जलमार्गमा अवरोध रहित आवत–जावतको प्रस्ताव, वार्तामा नयाँ मोडको संकेत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इरानद्वारा हर्मुज जलमार्गमा अवरोध रहित आवत–जावतको प्रस्ताव, वार्तामा नयाँ मोडको संकेत

काठमाडौ । मध्यपूर्वमा जारी तनावबीच इरानले रणनीतिक रूपमा महत्वपूर्ण रहेको स्ट्रेट अफ हर्मुजको ओमानपट्टि पर्ने जलमार्गबाट जहाजहरूलाई अवरोध रहित आवत–जावत गर्न दिने प्रस्ताव अघि सारेको छ। रोयटर्सका अनुसार यो प्रस्ताव अमेरिका–इरानबीच चलिरहेको कूटनीतिक वार्ताका क्रममा प्रस्तुत गरिएको हो।

वार्ताबारे जानकार स्रोतलाई उद्धृत गर्दै रोयटर्सले इरानले यस जलमार्गमा तेल ट्यांकर र अन्य समुद्री जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्ने व्यवस्था स्वीकार गर्न सक्ने संकेत दिएको जनाएको छ। यसलाई क्षेत्रीय तनाव घटाउने सम्भावित सहमतितर्फको कदमका रूपमा हेरिएको छ।

विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास ओसारपसार हुनेस्ट्रेट अफ हर्मुज हाल अमेरिका, इरान र अन्य क्षेत्रीय शक्तिबीचको तनावको केन्द्रमा रहेको छ। पछिल्ला महिनाहरूमा जलमार्गको सुरक्षा र नियन्त्रणलाई लिएर विवाद चर्किँदै आएको थियो।

यसअघि इरानले जहाजहरूमाथि शुल्क लगाउने (टोल) र समुद्री मार्गमा आफ्नो सार्वभौम अधिकार विस्तार गर्ने जस्ता प्रस्तावहरू अघि सारेको भए पनि ती अन्तर्राष्ट्रिय रूपमा आलोचित भएका थिए। लण्डनमा भएको अन्तर्राष्ट्रिय समुद्री संगठन बैठकमा समेत इरानको योजनाप्रति सदस्य राष्ट्रहरूले कडा आपत्ति जनाएका थिए।

नयाँ प्रस्ताव भने केही लचकताको संकेतका रूपमा हेरिएको छ। तर अझै पनि केही महत्वपूर्ण विषयहरू अनिश्चित छन्—जस्तै सम्भावित बारुदी सुरुङ हटाइने वा नहटाइने र इसराइलसँग सम्बन्धित जहाजहरूको आवागमनमा समान व्यवहार लागू हुने कि नहुने।

फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि खाडी क्षेत्रमा सयौं तेल ट्यांकर तथा करिब २० हजार नाविक अलपत्र परेको बताइएको छ। अप्रिल ८ देखि लागू भएको दुई साताको युद्धविरामपछि पनि समुद्री मार्गको सुरक्षा र नियन्त्रण प्रमुख विवादका रूपमा कायमै छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य नजिक पुगेको दाबी गर्दै दोस्रो चरणको वार्ता छिट्टै सुरु हुन सक्ने संकेत दिएका छन्। पहिलो चरणको वार्ता असफल भए पनि पछिल्ला कूटनीतिक संकेतहरूले पुनः संवादको सम्भावना बढाएको देखिन्छ ।