कांग्रेसभित्रको अन्योल केन्द्रीय समितिबाट समाधान खोज्नुपर्छ: प्रवक्ता महत
Prime TV News ३ महिना अगाडि 
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको नेतृत्वसम्बन्धी विवाद र अन्योलको समाधान केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएका छन्।
आइतबार बिहान पत्रकारहरूसँगको भेटमा उनले नेतृत्व परिवर्तनकालागि हस्ताक्षर संकलनजस्ता गतिविधिले कार्यकर्तामाझ अन्योलता सिर्जना गरेको भन्दै त्यसको अन्तिम निष्कर्ष केन्द्रीय समितिबाट निकालिने स्पष्ट पारे। “कांग्रेस एकजुट भएर अघि बढ्नुपर्ने बेला हो। कुनै पनि निर्णय वा प्रक्रिया केन्द्रीय समितिबाटै अघि बढ्नुपर्छ,” उनले भने।
डा. महतले पार्टी अधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पनि केन्द्रीय समितिबाटै तय हुने जनाए। पार्टी सभापति शेरबहादुर देउवालाई लोकतान्त्रिक आन्दोलनकालागि निरन्तर संघर्ष गर्ने नेता भनेर उल्लेख गर्दै उनले देउवामाथि लागेको "देश छाडेर भाग्न खोजेको" भन्ने आरोपप्रति कडा आपत्ति जनाए। “देउवा न भाग्नुपर्ने अपराधी हुन्, न त त्यस्तो मानसिकता भएका नेता। उनी त संकटको बेला पनि देश नछाड्ने व्यक्ति हुन्,” महतले स्पष्ट गरे।













