१० समितिमा एकल उम्मेदवारी, निर्विरोध सभापति चयन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of १० समितिमा एकल उम्मेदवारी, निर्विरोध सभापति चयन

काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतका धेरैजसो समितिका सभापति निर्विरोध भएका छन्।

बिहीबार तोकिएको समयमा मनोनयन दर्ता हुँदा १० वटा समितिमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि ती समितिका सभापति निर्विरोध हुने भएका हुन्। तीमध्ये ९ वटा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद छन् भने सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध भएका छन्।

अब भोलि बस्ने समितिको बैठकले निर्विरोध भएको औपचारिक घोषणा गर्नेछ। यसअघि रास्वपाले अधिकांश समितिमा आफ्ना उम्मेदवार उठाउने र लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र एक संयुक्त समितिमा भने एकभन्दा बढी उम्मेदवार परेकाले ती समितिमा चुनाव हुने भएको छ। 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सभापतिका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । शिक्षा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओजस्वी शेरचन र एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको हो। 

संयुक्त समिति निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।