पूर्वराजा शाहको सन्देश: राजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्छ


काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालले कुनै परनिर्भरता नअपनाई, भूराजनीतिक चक्रव्यूहमा नफसी, आफ्नै बाटो तय गर्दै 'अखण्ड नेपालको नवनिर्माण' गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
दशैंको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राष्ट्र निर्माणमा अब "बिगार्ने होइन, सपार्ने" दिशातर्फ अघि बढ्नुपर्ने बताएका हुन्। उनले भने, “कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नपसी, आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ।”
पूर्वराजाले जनभावना अनुरूप राज्य व्यवस्थामा समयसापेक्ष सुधार आवश्यक रहेको उल्लेख गरे। उनले नयाँ पुस्ताको इच्छाअभिलाषालाई समेट्न नसक्ने राज्यपद्धति दीर्घकालीन रूपमा सफल हुन नसक्ने उल्लेख गरेका छन् ।
“नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्छ,” उनले भने, “विकसित हुँदै गएको प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले अवश्य ग्रहण गर्नुपर्छ।”
पूर्वराजा शाहले राष्ट्रको समृद्धि, अखण्डता र सार्वभौमिकताका लागि सबैले आ–आफ्नो स्थानबाट उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिएका छन्।