संघीय संसद्का १२ वटा समितिले आज सभापति पाउँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of संघीय संसद्का १२ वटा समितिले आज सभापति पाउँदै

काठमाडौ । संघीय संसद्का १२ वटा समितिले आज सभापति चयन गर्ने भएका छन्। प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापति चयनका लागि आज निर्वाचन हुने भएको हो।

बिहीबार मनोनयन दर्ताका क्रममा १० वटा समितिका सभापतिहरू एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भइसकेका छन्। आज बाँकी दुई वटा समितिमा भने मतदानमार्फत सभापति चयन हुने कार्यसूची रहेको छ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि ओजस्वी शेरचन र गुरुप्रसाद बराल बीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै, संयुक्त समिति “राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन” समितिको सभापतिका लागि गणेश कार्की र मदनकुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुने छ।

यसअघि १० वटा समितिका सभापतिहरू निर्विरोध चयन भइसकेका छन्। तीमध्ये अर्थ समितिमा कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र उद्योग तथा वाणिज्य समितिमा रहवर अन्सारी निर्विरोध भएका छन्। त्यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, संयुक्त सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्।

महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी निर्विरोध चयन भएका छन्। सभापति चयनसँगै संसद्को समिति संरचना औपचारिक रूपमा पूर्ण हुने बताइएको छ।