शेयर बजारमा नयाँ नियम सोमबारदेखि लागू हुने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । शेयर बजारमा नयाँ नियम सोमबारदेखि लागू हुने भएको छ। नेपाल स्टक एक्सचेन्जले कारोबारलाई थप व्यवस्थित र चलायमान बनाउन ल्याइएको नयाँ व्यवस्था वैशाख ७ गतेदेखि लागू गर्ने जनाएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधनअनुसार सर्किट सम्बन्धी नयाँ नियम कार्यान्वयनमा आउनेछ। नयाँ व्यवस्था अनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एक दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ। यसअघि यो सीमा १० प्रतिशत थियो।
त्यस्तै, बजार खुल्नु अघि हुने ‘प्री–ओपन सेसन’ मा पनि मूल्य घटबढको सीमा ५ प्रतिशत कायम गरिएको छ, जुन पहिले २ प्रतिशत थियो। यसैगरी, समग्र बजार सूचक (नेप्से इन्डेक्स) मा पनि नयाँ सर्किट प्रणाली लागू हुनेछ। अब ५ प्रतिशतको उतारचढावमा कारोबार १५ मिनेट रोक्ने र ८ प्रतिशत पुगेमा बाँकी दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था हुनेछ।
नेप्सेका अनुसार यो परिवर्तनले बजारलाई वास्तविक मूल्य निर्धारणमा सहयोग गर्ने र लगानीकर्ताको सहभागिता बढाउने अपेक्षा गरिएको छ।







