६ वटा निजामती ट्रेड युनियनको संयुक्त माग: नयाँ ऐनदेखि अवकाश उमेरसम्मका प्रस्ताव

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ६ वटा निजामती ट्रेड युनियनको संयुक्त माग: नयाँ ऐनदेखि अवकाश उमेरसम्मका प्रस्ताव

काठमाडौ । नेपालका राष्ट्रिय स्तरका ६ वटा निजामती कर्मचारी ट्रेड युनियनहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संयुक्त रूपमा माग तथा प्रतिबद्धतापत्र बुझाएका छन् ।

बिहीबार नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालका प्रतिनिधिहरूले उक्त पत्र बुझाएका हुन्।

उनीहरूले तत्काल संघीय निजामती सेवा ऐन ल्याउन सरकारसँग माग गरेका छन्। साथै, कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष कायम गर्नुपर्ने मुख्य माग राखिएको छ। त्यस्तै, ३० वर्ष सेवा पूरा गरेका र ५० वर्ष उमेर पुगेका कर्मचारीलाई स्वैच्छिक अवकाश दिने व्यवस्था ऐनमै राख्नुपर्ने माग पनि गरिएको छ।

ट्रेड युनियनहरूले मुख्य सचिवको पदावधि २ वर्ष, सचिवको ३ वर्ष र सहसचिव वा सो सरहका पदको सेवा अवधि अधिकतम १२ वर्ष तोक्नुपर्ने प्रस्ताव गरेका छन्। उनीहरूले संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने सबै कर्मचारीलाई “निजामती कर्मचारी” को परिभाषामा समेट्नुपर्ने माग पनि अघि सारेका छन्।

साथै, निजामती सेवामा तहगत प्रणाली लागू गर्नुपर्ने, समायोजनका क्रममा अन्यायमा परेका कर्मचारीलाई पुनः रोजाइको अवसर दिनुपर्ने र लामो समय सेवा गरेका कर्मचारीलाई तह वृद्धि वा पदोन्नति दिनुपर्ने माग गरिएको छ।

तलब, भत्ता र अन्य सुविधा जीवनयापनको लागत अनुसार स्वतः समायोजन हुने व्यवस्था ऐनमै समावेश गर्न पनि उनीहरूले सरकारलाई आग्रह गरेका छन्। यसैबीच, ट्रेड युनियन खारेज गर्ने सम्भावित सरकारी योजनाप्रति उनीहरूले आपत्ति जनाउँदै, युनियनहरूले कर्मचारी अधिकार र पेशागत हितका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।