युवा, समावेशीता र जलवायु न्यायमा विश्व सहकार्य आवश्यक छ: राष्ट्रिय सभा अध्यक्ष दाहाल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विश्व समुदायलाई युवा सशक्तिकरण, समावेशिता र जलवायु न्यायका विषयमा एकताबद्ध हुन आह्वान गरेका छन् ।
टर्कीको इस्तानबुलमा हिजोदेखि शुरु भएको अन्तर व्यवस्थापिका संघको १५२ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले युवा सहभागिता, समावेशिता, विकास, जलवायु र डिजिटल रूपान्तरणका विषयमा विश्वभरका संसदहरु एकताबद्ध हुनुपर्ने बताएका हुन् ।
विश्व भूराजनीतिक प्रतिस्पर्धा, द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक संकट, असमानता र युवा बेरोजगारीजस्ता बहुआयामिक चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यी समस्याहरू परस्पर सम्बन्धित रहेकाले सामूहिकता, दूरदर्शिता र समावेशितामा आधारित समाधान आवश्यक रहेको बताए ।
महासभाको मूल नारा ‘आशाको सम्वर्धन, शान्तिको सुनिश्चितता र भावी पुस्ताका लागि न्याय‘को सान्दर्भिकता उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “जनप्रतिनिधिका रूपमा हामीले आज गर्ने निर्णयहरूले भोलिका पुस्ताको भविष्य निर्धारण गर्नमा महत्वपूर्ण योगदान गर्नेछ।”
अध्यक्ष दाहालले आशा र विश्वासलाई सुदृढ बनाउन युवाकेन्द्रित नीति अपरिहार्य रहेको उल्लेख गर्दै नेपालमा हाल प्रतिनिधि सभामा ठूलो संख्यामा युवाको सहभागिता रहेको जानकारी दिनुभयो।
समावेशिता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल अभ्यास गर्दै संविधानमा महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।
विकास र शान्ति एक अर्कासँग अन्तरनिर्भर रहेको उल्लेख गर्दै उनले विकासको असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए । त्यस्तै, जलवायु परिवर्तनलाई विश्वकै गम्भीर चुनौतीका रूपमा औंल्याउँदै नेपालजस्ता कार्बन न्यून उत्सर्जन गर्ने तर उच्च जोखिममा रहेका देशहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरे ।
हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने र हिमताल फुट्ने जोखिम बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको असर जनजीविका र जैविक विविधतामा परेको बताउनु भयो। यद्यपि, नेपालले सन् २०४५ सम्म नेट-शून्य उत्सर्जन हासिल गर्ने लक्ष्यसहित नवीकरणीय ऊर्जा र जलवायु अनुकूलन कार्यक्रम अघि बढाएको जानकारी दिए ।
डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले अवसरसँगै चुनौती पनि ल्याएको उल्लेख गर्दै उहाँले डिजिटल विभाजन घटाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भयो। “डिजिटलीकरण र एआईले शासन, सेवा प्रवाह र आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन्”, उनले भने, “डिजिटल पहुँचबीचको विभाजन भने चुनौतीका रूपमा बढ्दै गएको छ।”
आशा, शान्ति र न्याय एक अर्कासँग अन्तरसम्बन्धित आधारस्तम्भ भएको उल्लेख गर्दै अध्यक्ष दाहालले बहुपक्षीय सहकार्यमार्फत् सुरक्षित, समृद्ध र गरिमामय भविष्य निर्माण गर्न विश्व समुदायलाई आह्वान गरे ।







