आफ्नै परिवारका सदस्य भए पनि गल्ती गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री गुरुङ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले गल्ती गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
पत्रकारहरूसँगको भेटघाटमा उनले आफूले गल्ती गर्ने व्यक्तिलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारे। “म गल्ती गर्ने कसैलाई छाड्दिनँ, मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिनँ,” उनले भने। गृहमन्त्री गुरुङका अनुसार दोषीलाई अनुहार नहेरी कानुनअनुसार कारबाही गर्ने काम भइरहेको छ।
उनले भीआईपीमाथिको कारबाही प्रक्रियाबारे पनि टिप्पणी गर्दै अदालतको निर्णयप्रति असन्तुष्टि जनाए। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउका लागि रातभर सुरक्षा निकायका प्रमुखहरूसहित खटिए पनि पछि अदालतले छाडिदिएको उनले बताए।
“रातभर दुई आईजीपी र म मिलेर काम गर्यौं, तर अदालतले छाडिदियो, हाम्रो मेहनत खेर गयो,” उनले भने। गृहमन्त्री गुरुङले अहिले कानूनका विभिन्न पक्ष अध्ययन गरिरहेको पनि बताए। भविष्यमा पक्राउ गर्दा अदालतले छाड्न नसक्ने गरी कानुनी आधार बलियो बनाउनुपर्ने उनको भनाइ छ।
उनका अनुसार भीआईपीमाथिको कारबाही केही सुस्त देखिए पनि दोषीमाथि कारबाही रोकिएको छैन। “गल्ती गर्ने जो–कोहीमाथि कारबाही रोकिँदैन,” उनले स्पष्ट पारे।







