वैशाख महिनाको विद्यालय शुल्क अनिवार्य तिर्न निजी विद्यालयहरूको आग्रह

User Image Prime TV News ३ हप्ता अगाडि
Image of वैशाख महिनाको विद्यालय शुल्क अनिवार्य तिर्न निजी विद्यालयहरूको आग्रह

काठमाडौ । निजी विद्यालय सञ्चालकका चारवटा छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा तिर्नुपर्ने बताएका छन्।

प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा “वैशाखको शुल्क तिर्नु पर्दैन” वा “निःशुल्क हुन्छ” भन्ने किसिमका समाचार र प्रचारहरू भ्रामक भएको बताएका हुन्। उनीहरूले यस्ता गलत सूचनामा विश्वास नगर्न अभिभावकहरूलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा निजी विद्यालयहरू सरकारले कानुनी रूपमा अनुमति दिएर सञ्चालन भइरहेका र शिक्षा ऐन तथा नियमअनुसार चलिरहेको उल्लेख छ। विद्यालयको शुल्क पनि कानुन अनुसार नै निर्धारण हुने उनीहरूको भनाइ छ।

सञ्चालकहरूले शुल्कको संरचना पनि स्पष्ट पारेका छन्। उनीहरूका अनुसार भर्ना शुल्क एक महिनाको पढाइ शुल्क बराबर हुन्छ। मासिक पढाइ शुल्क १२ महिनासम्म लाग्नेछ भने वार्षिक शुल्क पनि छुट्टै रूपमा बुझाउनुपर्ने हुन्छ। खाना, यातायात र अतिरिक्त कक्षाजस्ता सेवाका लागि भने छुट्टै शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ।

निजी विद्यालयहरूले सरकार वा दातृ निकायबाट आर्थिक सहयोग नपाउने भएकाले शिक्षक–कर्मचारीको तलब तथा विद्यालय सञ्चालन खर्च अभिभावकले तिरेको शुल्कबाटै धान्नुपर्ने उनीहरूको भनाइ छ। सञ्चालकहरूले वैशाख महिनाको शुल्क यथावत रहने स्पष्ट पार्दै शुल्क नतिर्नु पर्ने भन्ने प्रचार गलत भएको बताएका छन्। उनीहरूले अभिभावकहरूलाई अफवाहको पछि नलाग्न पनि आग्रह गरेका छन्।