त्रिभुवन विश्वविद्यालयको जग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा र अचल सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ। विश्वविद्यालयले अनधिकृत रूपमा प्रयोग भइरहेको जग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
त्रिविले सूचना जारी गर्दै विभिन्न व्यक्ति, संस्था र निकायले प्रयोग गरिरहेको विश्वविद्यालयको जग्गा तथा सम्पत्ति फिर्ता गर्न आग्रह गरेको हो। सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरी विश्वविद्यालयलाई आधिकारिक रूपमा हस्तान्तरण गर्न भनिएको छ।
त्रिवि कार्यकारी परिषद्को चैत २३ गतेको निर्णयअनुसार यो सूचना जारी गरिएको हो। तोकिएको समयभित्र जग्गा खाली नगरिए कानुनअनुसार आवश्यक कारबाही हुने चेतावनी पनि दिइएको छ।खोजबिन समितिको प्रतिवेदनअनुसार त्रिविको ठूलो मात्रामा जग्गा अनधिकृत रूपमा कब्जा वा प्रयोग भइरहेको देखिएको छ। प्रतिवेदनले १८ भन्दा बढी संघ–संस्थाले विश्वविद्यालयको जग्गा प्रयोग गरिरहेको उल्लेख गरेको छ।
त्रिविसँग करिब ५ हजार ५० रोपनी जग्गा भए पनि ठूलो हिस्सा अरूले प्रयोग गरिरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी कीर्तिपुर क्षेत्रमा मात्र हजारौँ रोपनी जग्गा विभिन्न संस्थाको नियन्त्रणमा रहेको बताइएको छ। प्रतिवेदनले विगतमा जिम्मेवार पदाधिकारी र कर्मचारीको कमजोरीका कारण जग्गा संरक्षण हुन नसकेको निष्कर्ष निकालेको छ। साथै आवश्यक परे सम्बन्धित निकायमार्फत अनुसन्धान गर्न पनि सुझाव दिइएको छ।
त्रिविले प्रतिवेदन कार्यान्वयन गर्दै जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।







