अस्पतालमा दुई दिन बिदा, ओपीडी बन्द हुने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। अब शनिबार र आइतबार ओपीडी सेवा बन्द हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्यकर्मीको हित र मनोबल बढाउन यस्तो निर्णय गरिएको हो। तर, आकस्मिक सेवा भने पहिलेझैं २४ घण्टा सञ्चालन हुनेछ।
बिदाका दिन बिरामीलाई समस्या नहोस् भनेर अस्पताललाई आवश्यक व्यवस्था मिलाउन भनिएको छ। आवश्यक परे बिरामीलाई नजिकैको अर्को अस्पतालमा पठाउने र एम्बुलेन्स तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।
त्यस्तै, बिदाका दिन उपलब्ध सेवाबारे जानकारी अस्पतालले वेबसाइट र सूचना पाटीमा राख्नुपर्नेछ। यसअघि आइतबार पनि ओपीडी सञ्चालन गर्न भनिएको थियो।
तर, चिकित्सकहरू र विभिन्न स्वास्थ्य संगठनले विरोध गरेपछि सरकार निर्णय बदल्न बाध्य भयो। नेपाल चिकित्सक संघसहित १४ वटा संगठनको दबाबपछि अन्ततः यो निर्णय गरिएको हो।








