अदालतको आदेशपछि दीपक खड्का रिहा, अस्पतालबाट घर फर्किए
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का अदालतको आदेशपछि हिरासतबाट छुटेका छन् र अस्पतालबाट पनि घर फर्किएका छन्।
उनी चैत १५ गते काठमाडौंबाट पक्राउ परेका थिए। पक्राउ परेको भोलिपल्टदेखि बिरामी भन्दै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उपचारपछि शुक्रबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।
सर्वोच्च अदालत ले बिहीबार खड्कालाई थुनामुक्त गर्न आदेश दिएको थियो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश दिएको हो।
खड्कालाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको थियो। जेनजी आन्दोलनका बेला उनको घरमा जलेको अवस्थामा भेटिएको रकमबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ।
यसअघि अदालतले उनलाई तत्काल नछोड्ने निर्णय गरेको थियो। तर पछि थप कागजात मागेर फेरि सुनुवाइ गर्दा रिहा गर्न आदेश दिएको हो। अब खड्का घर फर्किए पनि उनीमाथिको अनुसन्धान भने अझै जारी रहनेछ।







