उच्च अमेरिकी अधिकारी कपुर नेपाल आउँदै, बालेन सरकारसँग आर्थिक र एमसीसीमा केन्द्रित छलफल हुने

User Image Prime TV News २ हप्ता अगाडि
Image of उच्च अमेरिकी अधिकारी कपुर नेपाल आउँदै, बालेन सरकारसँग आर्थिक र एमसीसीमा केन्द्रित छलफल हुने

काठमाडौ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा आउने भएका छन्। बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि उनको यो पहिलो नेपाल भ्रमण हुन लागेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार कपुर सोमबार काठमाडौँ आइपुग्ने र बुधबार फर्किने प्रारम्भिक तालिका बनाइएको छ। उनी इस्तानबुल हुँदै सिधै काठमाडौँ अवतरण गर्ने तयारीमा छन्। यसपटक उनको भ्रमण केवल नेपाल केन्द्रित छ, जुन असामान्य मानिन्छ। यसअघि अमेरिकी उच्च अधिकारीहरू प्रायः अन्य दक्षिण एशियाली देशको भ्रमणसँगै काठमाडौँ आउने गर्थे।

नेपाल बसाइका क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भेट गरी सरकारको आर्थिक प्राथमिकता, लगानीको वातावरण र विकास योजनाबारे छलफल गर्नेछन्। विशेषगरी एमसीसी अन्तर्गतका परियोजनाको कार्यान्वयनलाई तीव्र बनाउन अमेरिकाले चासो देखाएको छ।

भ्रमणका क्रममा कपुरले अन्य उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने सम्भावना रहेको छ। यद्यपि विस्तृत कार्यसूची भने तयार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

डोनाल्ड ट्रम्पले २०२५ अक्टोबरमा पूर्व सहायक विदेशमन्त्री डोनाल्ड लुक लाई हटाएर कपुरलाई उक्त जिम्मेवारी दिएका थिए। नयाँ दिल्लीमा जन्मिएका कपुर सुरक्षा तथा रणनीतिक मामिलाका विज्ञका रूपमा चिनिन्छन् र उनले अमेरिकी सैन्य शिक्षण संस्थामा अध्यापनसमेत गरेका छन्।

नयाँ सरकार गठनपछि उच्च तहको अमेरिकी अधिकारी सिधै काठमाडौँ आउनु नेपालप्रति अमेरिकी चासो बढेको संकेतका रूपमा हेरिएको छ।