इन्धन मूल्यवृद्धिविरुद्ध उनेपाको कडा विरोध, सरकारलाई ‘तत्काल सच्याउन’ चेतावनी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेपछि उज्यालो नेपाल पार्टीले सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै इन्धनमा गरिएको मूल्यवृद्धिलाई 'गलत र जनविरोधी' कदम भन्दै तुरुन्त सच्याउन माग गरेको हो।
उनेपाले बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि बजारमा स्थिरता आउने अपेक्षा गरिएको भए पनि त्यसको ठीक उल्टो भइरहेको जनाएको छ। पार्टीका अनुसार काठमाडौमा पेट्रोलको मूल्य २६ मार्चमा १८७ रुपैयाँबाट बढेर १६ अप्रिलमा २१९ रुपैयाँ पुगेको छ भने डिजेल १६७ रुपैयाँबाट २३७ रुपैयाँ पुगेको छ। छोटो समयमा भएको यस्तो ठूलो वृद्धि सामान्य नभइ,गम्भीर समस्या भएको उनेपाको भनाइ छ।
पार्टीले इन्धनको मूल्य बढ्दा त्यसको असर सम्पूर्ण अर्थतन्त्रमा पर्ने स्पष्ट पारेको छ। यातायात, ढुवानी, कृषि, उद्योगदेखि दैनिक उपभोग्य वस्तुसम्म सबै क्षेत्रमा महँगी बढ्ने भन्दै चेतावनी दिइएको छ। एकपटक मूल्य बढेपछि पछि घट्दा पनि बजारभाउ नघट्ने वास्तविकता रहेको भन्दै यसले दीर्घकालीन आर्थिक दबाब सिर्जना गर्ने उल्लेख गरिएको छ।
उनेपाले अहिले नै बजारमा खाद्यान्न, तरकारी र अन्य वस्तुमा मूल्य बढिरहेको अवस्थामा इन्धनको मूल्यवृद्धिले अवस्था अझ खराब बनाउने जनाएको छ। यस्तो निर्णयलाई पार्टीले सीधा जनताको ढाड सेक्ने काम भनेको छ।
उनेपाको माग यस्ता छन् :-
१. पेट्रोलियम पदार्थमा लागेका कर, भन्सार, पूर्वाधार कर तथा अन्य शुल्कको तत्काल पुनरावलोकन गरी खुद्रा मूल्य घटाउने निर्णय गरियोस्।
२. मूल्य स्थिरीकरणका लागि उपलब्ध कोषहरु जनतालाई राहत दिन तत्काल प्रयोग गरियोस्।
३. नेपाल र भारतका सीमावर्ती बजारबीचको अस्वाभाविक मूल्य अन्तर घटाउन विशेष मूल्य समानीकरण संयन्त्र बनाइयोस्।
४. चोरीपैठारी, कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ नियन्त्रणका लागि संयुक्त अनुगमन अभियान सञ्चालन गरियोस्।
५. विद्युतीय चुलो, विद्युतीय सवारीसाधन र स्वदेशी ऊर्जा प्रयोगमा लक्षित सहुलियत दिई पेट्रोलियम निर्भरता घटाइयोस्।
६. नेपाल आयल निगमको वास्तविक परल मूल्य, कर संरचना, नाफा नोक्सान र मूल्य समायोजनको आधार पूर्ण पारदर्शितासहित नियमित सार्वजनिक गरियोस्।







