इरान–अमेरिका तनाव घट्दा तेलको मूल्य घट्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of इरान–अमेरिका तनाव घट्दा तेलको मूल्य घट्यो

काठमाडौ । इरान र संयुक्त राज्य अमेरिका बीचको तनाव केही कम भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। मुख्य कारण हो-महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज सबै व्यापारिक जहाजका लागि खुला रहने घोषणा।

यसअघि युद्धको डरका कारण तेलको मूल्य अस्वाभाविक रूपमा बढेको थियो। तर इरानले जहाज आवतजावतमा रोक नलगाउने संकेत दिएपछि बजार शान्त हुन थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरान अब यो जलमार्ग बन्द नगर्ने दाबी गरेपछि लगानीकर्ताको डर कम भएको छ।

शुक्रबार बजार बन्द हुँदा ब्रेन्ट क्रुड र डब्लुटीआई को मूल्य प्रतिब्यारेल ९.०१ डलरले घटेर ९०.३८ डलरमा पुगेको छ। त्यस्तै वेस्ट टेक्सास इन्टरमिडिएटको पनि १०.४८ डलरले घटेर ८३.८५ डलरमा झरेको छ।

इरानका अधिकारीहरूले सबै जहाजलाई होर्मुजबाट जान दिन सकिने बताएका छन्, तर त्यसका लागि इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग समन्वय गर्नुपर्ने शर्त राखिएको छ।

विश्लेषकहरूका अनुसार युद्धको डरका कारण बढेको तेलको मूल्य अहिले घट्दै गएको हो। अहिले बजार फेरि सामान्य अवस्थामा फर्किन थालेको देखिन्छ। साथै, केही ठूला जहाजहरू होर्मुज हुँदै बाहिरिन थालेका छन्, जसले तेल आपूर्ति सहज हुँदै गएको संकेत दिएको छ।