अमेरिकी सेना सिरियाबाट पूर्ण रूपमा फिर्ता
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । संयुक्त राज्य अमेरिकाले १२ वर्ष लामो सैन्य उपस्थिति अन्त्य गर्दै सिरिया बाट आफ्ना सबै सैनिक फिर्ता गरेको छ ।
हसाकास्थित कसराक एयरबेसबाट अन्तिम सैनिक टोली बाहिरिएसँगै अमेरिकी उपस्थिति औपचारिक रूपमा समाप्त भएको हो। करिब दुई हजार सैनिक जोर्डनतर्फ फर्किएको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ।
अमेरिकी फौज फिर्ता भएसँगै त्यहाँको अवस्था एकाएक बदलिएको छ। विशेषगरी सिरियन डेमोक्रेटिक फोर्सेसमा ठूलो असर परेको छ। अमेरिकी सुरक्षा हटेपछि उक्त समूहले बाध्य भएर सिरियाली सरकारसँग सहकार्य गर्न थालेको छ। अब कुर्द लडाकुहरू राष्ट्रिय सेनामा मिसिने सहमति भएको छ।
यससँगै हसाका र कामिश्लीजस्ता क्षेत्रमा सरकारी सेना तैनाथ भइसकेका छन्। अल–उमर र कोनिको जस्ता महत्वपूर्ण तेल तथा ग्यास क्षेत्र पनि सरकारको नियन्त्रणमा आएका छन्। यसले सिरियाको अर्थतन्त्र सुधार हुन सक्ने अनुमान गरिएको छ।
टर्कीले सिरियन डेमोक्रेटिक फोर्सेसलाई लामो समयदेखि आतंकवादी संगठन मान्दै आएको छ। त्यसैले अमेरिकी सेना हटेपछि सम्भावित आक्रमणको खतरा बढेपछि उक्त समूह सरकारसँग नजिकिन पुगेको हो।
यसबीच डोनाल्ड ट्रम्प र सिरियाली नेतृत्वबीच भएको उच्चस्तरीय भेटपछि दुई देशबीचको सम्बन्धमा सुधार देखिएको छ। अमेरिकाले सिरियामाथि लगाइएका धेरै प्रतिबन्ध हटाउने संकेत पनि दिएको छ।
अमेरिकी सेना फर्किए पनि सिरिया अझै स्थिर भएको छैन। सुरक्षा चुनौती, शक्ति संघर्ष र क्षेत्रीय तनाव अझै ज्यूँका त्यूँ छन् ।







