२१ दिनपछि केपी शर्मा ओली अस्पतालबाट घर फर्किए
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २१ दिनपछि अस्पतालबाट घर फर्किएका छन्।
शनिबार त्रिवि शिक्षण अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। चैत ३० गते उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो। लामो उपचारपछि स्वास्थ्यमा सुधार आएपछि मात्रै अस्पतालले घर पठाएको जनाएको छ।
ओली चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए। पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। तर स्वास्थ्य अवस्था बिग्रिएपछि उनी त्यहीँ भर्ना भएर उपचार गराइरहेका थिए।
उनको थुनालाई गैरकानुनी भन्दै पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेपछि अदालतले हिरासत लम्ब्याउन नपाइने आदेश दिएको थियो। त्यसपछि उनलाई हाजिरी जमानीमा छोडिएको थियो।
यसै प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक भने चैत २६ गते नै रिहा भइसकेका थिए। ओली भने स्वास्थ्य समस्याका कारण अस्पतालमै बसेका थिए।
सरकारले उनीहरूलाई जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरेको थियो। गौरबहादुर कार्की नेतृत्वको आयोगले आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिका कमजोर देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो।







