रास्वपाले बोलायो सचिवालय बैठक

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले भोलीका लागि सचिवालय बैठक बोलाएको छ। बैठक पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा बस्नेछ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अपराह्न साढे ३ बजे बैठक हुने जनाइएको छ। बैठकमा ६ वटा मुख्य विषयमा छलफल हुनेछ।

बैठकमा पहिलो एजेन्डा जिल्ला अधिवेशनको कार्यविधि, २०८३ का बिषयमा छलफल हुने जनाएको छ । यसका साथै बैंक खाता सञ्चालनसम्बन्धी विषय, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागमा नयाँ मनोनयन गर्ने विषय पनि छलफलका एजेण्डा रहेको छ । 

यस्तै, महाधिवेशनका लागि कार्यविधि बनाउने समिति गठन गर्ने एजेन्डा पनि रहेको छ। प्रतिनिधि सभा निर्वाचनका कारण रोकिएको महाधिवेशनलाई अघि बढाउने तयारी पार्टीले गरेको छ।

बैठकमा विभिन्न क्षेत्रका विज्ञहरूलाई बोलाएर योजना माग्ने विषय पनि समावेश गरिएको छ। ती योजनालाई कार्यान्वयन गर्ने रणनीति बनाइने बताइएको छ।

अन्य विषयमा प्रतिनिधि सभा सदस्यहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समिति बैठक, संसदीय दलका लागि प्राविधिक सहयोग र लेबीसम्बन्धी विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।