देउवा पक्षले सर्वोच्चको फैसला स्वीकार्ने, अब कांग्रेस एकता थापाको जिम्मामा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गरेको फैसला देउवा पक्षले स्वीकार्ने निर्णय गरेको छ।
शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि नेता मीनबहादुर विश्वकर्माले पार्टीले अदालतको निर्णय मान्ने स्पष्ट पारे।
बैठकमा फैसलाप्रति केही असहमति भए पनि त्यसलाई स्वीकार्दै अघि बढ्ने सहमति भएको जनाइएको छ। साथै पार्टीलाई एकताबद्ध बनाउने विषयमा पनि छलफल भएको थियो।
सर्वोच्चले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिएको छ। यससँगै कानुनी विवाद टुंगिएको भए पनि पार्टीभित्रको राजनीतिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ।
अब पार्टीलाई एकतामा राख्ने जिम्मेवारी थापाको हातमा आएको देउवा पक्षका नेताहरूको भनाइ छ। उनीहरूले सबै पक्षलाई समेटेर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरेका छन्।
यसअघि प्रतिनिधि सभा निर्वाचनका बेला पनि पार्टी एकता जोगाउन देउवा पक्षका नेताहरूलाई चुनावमा सहभागी गराइएको स्मरण गर्दै अब कांग्रेसलाई थप मजबुत बनाउने अवसर आएको उनीहरूको निष्कर्ष छ।







