राप्रपामा महाधिवेशन विषयमा विवाद चर्कियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र महाधिवेशनको विषयलाई लिएर विवाद देखिएको छ। महामन्त्री धवलशमशेर राणाले जेठमा महाधिवेशन नभए पार्टी समाप्त हुन सक्ने बताएका थिए। उनको यस भनाइप्रति पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति गलत र गैरजिम्मेवार भएको बताएका छन्।
श्रेष्ठले राप्रपा कुनै पनि हालतमा समाप्त नहुने दाबी गरेका छन्। साथै अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन ढिलाइ गरिरहेको भन्ने आरोप पनि अस्वीकार गरेका छन्। उनका अनुसार महाधिवेशन गर्नका लागि जिल्ला अधिवेशन सकिनु आवश्यक हुन्छ। हालसम्म दुई दर्जनभन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र अन्य जिल्लामा प्रक्रिया जारी रहेको उनले जानकारी दिएका छन्।
श्रेष्ठले पार्टीभित्रै बसेर नेतृत्वको आलोचना गर्ने तर काममा सहयोग नगर्नेहरूमाथि पनि टिप्पणी गरेका छन्। उनले अध्यक्षले एकलौटी निर्णय गरेको भन्ने आरोप पनि गलत भएको बताए। आवश्यक निर्णयहरू समितिबाट नै अनुमोदन हुने गरेको उनको भनाइ छ। प्रवक्ता श्रेष्ठले महाधिवेशनको आवश्यकता अध्यक्षलाई नै बढी भएको पनि बताएका छन्।







