अमेरिकालाई इरानको चेतावनीः नाकाबन्दी नहटाए होर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इरानले होर्मुज स्ट्रेटमा लगाइएको नाकाबन्दी हटाइएन भने यो महत्वपूर्ण जलमार्ग बन्द गर्ने चेतावनी दिएको छ। इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले सरकारी टेलिभिजनसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले नाकाबन्दीलाई गलत र अविवेकी निर्णय भएको बताएका छन्।
गालिबाफले भने, “यदि नाकाबन्दी हटाइएन भने होर्मुज स्ट्रेटमा आवतजावत बन्द गरिनेछ।” उनले यो जलमार्ग इरानको नियन्त्रणमा रहेको दाबी पनि गरेका छन्। उनका अनुसार अमेरिकाले यहाँ खानी हटाउने प्रयास गरेपछि इरानले त्यसको विरोध गरेको हो।
होर्मुज स्ट्रेट विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो। यहाँबाट मध्यपूर्वका धेरै देशको तेल र ग्यास विश्व बजारमा पुग्ने गर्छ। विशेष गरी एसियाका चीन, भारत, जापान र दक्षिण कोरिया जस्ता देशले यही मार्गबाट ठूलो मात्रामा तेल आयात गर्छन्।
त्यसैले यो मार्ग बन्द भएमा विश्व तेल बजारमा ठूलो असर पर्ने बताइएको छ। इरानी पक्षका अनुसार यो विषयमा अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्नेछ।







