सल्यानमा जन्ती बोकेको जिप दुर्घटना, ४ जनाको मृत्यु
Prime TV News २ हप्ता अगाडि 
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। पछिल्लो पटक उपचारका क्रममा ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यसअघि घटनास्थलमै ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको थियो। कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती लिएर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार जिपमा १८ जना सवार थिए। दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी मेहेलकुना अस्पताल तथा अन्य अस्पतालमा उपचारका लागि पठाइएको छ। केहीलाई अवस्था गम्भीर भएपछि बाँके र सुर्खेततर्फ पनि पठाइएको जनाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।







