कच्चा तेलको मूल्यसँग तुलना गरेर इन्धन महँगो भन्नु गलतः आयल निगम
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल आयल निगमले कच्चा तेलको मूल्यसँग तुलना गरेर नेपालमा इन्धन महँगो भएको भन्ने दाबी गलत भएको जनाएको छ।
निगमका अनुसार नेपालमा पेट्रोल र डिजेलको मूल्य निर्धारण गर्दा अन्तरराष्ट्रिय बजारमा पाइने प्रशोधित पेट्रोलियम पदार्थको मूल्यलाई आधार बनाइन्छ, कच्चा तेललाई होइन। प्रवक्ता मनोज ठाकुरले नेपालमा आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल प्रशोधन गर्न नसकिने र त्यसैले प्रशोधित इन्धन आयात गर्नुपर्ने बाध्यता रहेको बताए।
उनका अनुसार कच्चा तेल भन्दा प्रशोधित पेट्रोल र डिजेलको मूल्य स्वाभाविक रूपमा बढी हुने भएकाले दुवैको सीधा तुलना गर्नु सही नहुने जनाएको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट इन्धन आयात गर्दै आएको छ र सोही मूल्यका आधारमा प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गरिएको छ।
निगमले भन्सार, कर, ढुवानी, बीमा र भण्डारण खर्चले पनि अन्तिम खुद्रा मूल्यमा असर गर्ने जनाएको छ। हाल अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ। साथै मूल्य बढेपछि पनि डिजेलमा अझै घाटा भइरहेको बताइएको छ।







