नेपाली कांग्रेसले यसपालि चियापान कार्यक्रम नगर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली कांग्रेसले यसपालि चियापान कार्यक्रम नगर्ने

काठमाडौ । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यसपालि नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिएका हुन् ।

विस २०३३ सालमा जननायक बीपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो ।

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चाडबाडको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेत आगजनी गरी ध्वस्त पारिएको अवस्थामा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ ।”

आमनेपाली अकल्पनीय शोकमा रहेकाले यो वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ । रासस