कांग्रेस एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व नै जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनपछि बनेको गगन थापा नेतृत्वलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू भेला भएर आगामी रणनीतिबारे छलफल गरेका थिए।

भेलामा सहभागी नेता कुन्दनराज काफ्लेले सर्वोच्च अदालतको निर्णयपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको बताए। उनले पार्टीको विगतको उतारचढाव र वर्तमान अवस्थाबारे पनि समीक्षा गरिएको जानकारी दिए।

काफ्लेका अनुसार कांग्रेसभित्र एकता कायम राख्न सबै नेता–कार्यकर्ताको आत्मबल बढाउनुपर्नेमा जोड दिइएको छ। साथै, पार्टीसँग जनताको दूरी किन बढ्यो र किन साना दलहरूतर्फ मत गयो भन्ने विषयमा पनि गम्भीर छलफल भएको उनले बताए।

उनले पार्टीभित्र खुलेर छलफल गर्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने धारणा राखे। पार्टी कार्यालय सानेपामा सबै पक्षलाई आफ्ना कुरा राख्न पाउने वातावरण बनाइनुपर्ने उनको भनाइ छ।