रास्वपाको केन्द्रीय समिति बैठक आज, ९ वटा एजेन्डामा छलफल हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठकका लागि ९ बुँदे एजेन्डा तय गरिएको छ। बैठकमा पार्टीका हालका गतिविधिबारे जानकारी गराउने, केन्द्रीय सदस्यहरूको रिपोर्ट लिने र पदाधिकारी मनोनयनबारे छलफल हुने छ।
त्यसैगरी, महाधिवेशनको तयारी, कार्यविधि मस्यौदा र विधान संशोधनका विषयमा पनि छलफल गरिनेछ। स्थानीय तहका उम्मेदवार चयनका लागि ‘उम्मेदवार क्लब’ गठन गर्ने र आवेदन आह्वान गर्ने विषय पनि एजेन्डामा राखिएको छ।
यस्तै, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। रास्वपाले पार्टीको संगठन बलियो बनाउने र आगामी योजनालाई स्पष्ट बनाउने उद्देश्यले बैठक बस्न लागेको जनाएको छ। अब निर्णय मात्रै होइन, त्यसको कार्यान्वयन कति हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ।
यी हुन् रास्वपाको केन्द्रीय समिति बैठकका प्रस्तावित कार्यसूची :
१. पार्टी गतिविधि ब्रिफिङ ।
२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
५. विधान संशोधन सम्बन्धमा ।
६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा ।
७. प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
९. विविधः
क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।
ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा ।







