नेपाल एयरलाइन्सले ग्वाञ्जाओ सिधा उडान सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाल एयरलाइन्सले ग्वाञ्जाओ सिधा उडान सुरु

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले चीनको ग्वाञ्जाओ सहरमा सिधा अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। निगमले आज देखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं रूटमा नियमित उडान थालनी गरेको हो। यसमार्फत नेपाल एयरलाइन्सले ११औं अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गरेको छ।

यसअघि असोज ९ गते उद्घाटन उडान गर्ने तयारी भए पनि प्राविधिक कारणले उडान स्थगित गर्नुपरेको थियो। निर्धारित समयमा विमानस्थलमा पुगिसकेका यात्रुहरूलाई निगमले आवश्यक व्यवस्था मिलाएको थियो। पहिलो सफल उडानमा गएका यात्रुहरू लिएर फर्किएको विमान आइतबार १०७ जना यात्रु ल्याउँदै काठमाडौं अवतरण गरेको छ । 

ग्वाञ्जाओ उडानलाई नियमित बनाउँदै निगमले अब हरेक हप्ता आइतबार, मंगलवार र शनिबार उडान गर्ने तालिका सार्वजनिक गरेको छ। प्रारम्भिक चरणमा असोज ३०, कात्तिक २ र कात्तिक ६ गतेका लागि थप उडानहरू पनि तय गरिएको छ। उडानका लागि एकतर्फी टिकट दर ३० हजार रुपैयाँ र दोहोरो टिकट दर ५० हजार रुपैयाँ तोकिएको छ।

ग्वाञ्जाओसहित अब नेपाल एयरलाइन्सले ९ देशका ११ गन्तव्यमा उडान गरिरहेको छ। निगमका दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुबई, भारतका दिल्ली, मुम्बई र बैङ्गलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम, जापानको नारिता र हङकङमा नियमित अन्तर्राष्ट्रिय सेवा दिइँदै आएको छ।