अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर नेपालमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर सोमबार बिहान काठमाडौं आइपुगेका छन्। बालेन शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । जसलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
काठमाडौंमा रहँदा कपुरले आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गर्ने कार्यक्रम रहेको छ। अन्य भेटघाटबारे भने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहसँग भेट हुने वा नहुनेबारे पनि अझै टुंगो लागेको छैन।
कपुरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहायक विदेशमन्त्रीमा नियुक्त गरेका हुन्। उनले यसअघि अमेरिकी विदेश विभागको नीति योजना समूहमा काम गरेका थिए। साथै, उनी अमेरिकाको नावल पोस्ट ग्राजुएट स्कुलमा प्राध्यापक पनि रहिसकेका छन्।
भारतीय मूलका कपुरको जन्म भारतमा भएको हो। उनका बुबा भारतीय र आमा अमेरिकी हुन्। दक्षिण तथा मध्य एसियाली मामिलामा उनी विशेषज्ञ मानिन्छन्। उनले भारत–पाकिस्तान सम्बन्ध, क्षेत्रीय सुरक्षा र आतङ्कवादका विषयमा अध्ययन र अनुसन्धान गरेका छन्।
नेपालमा नयाँ सरकार गठनमा अमेरिकाको प्रभाव रहेको चर्चा भइरहेका बेला कपुरको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। अहिले दक्षिण एसियामा बढ्दो भू–राजनीतिक प्रतिस्पर्धाका कारण नेपालको परराष्ट्र नीति पनि चर्चामा रहेको छ।







