सुकुम्बासी बस्ती र निजी घरटहरा भत्काउने कार्यप्रति जेनजी मुभमेन्ट अलायन्सले विरोध
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सुकुम्बासी बस्ती र निजी घरटहरा भत्काउने कार्यप्रति जेनजी मुभमेन्ट अलायन्सले विरोध जनाएको छ। अलायन्सले प्रेस विज्ञप्ति जारी गर्दै अतिक्रमित जग्गा खाली गराउने नाममा डोजर चलाउँदा नागरिकमाथि अन्याय भएको जनाएको छ।
गृह मन्त्रालयको निर्देशनमा बल प्रयोग गरिएको भन्दै यसले मानिसको बाँच्न पाउने अधिकारमा असर पुगेको बताइएको छ। बस्ती जोगाउन खोज्दा सुरक्षाकर्मीबाट दुर्व्यवहार र धरपकड भएको पनि अलायन्सले उल्लेख गरेको छ। संविधानले सबै नागरिकलाई बस्न पाउने अधिकार दिएको अवस्थामा वैकल्पिक व्यवस्था नगरी घर भत्काउनु गलत भएको उसको भनाइ छ।
अलायन्सले सरकारले कानुन अनुसार दिनुपर्ने मुआब्जा पनि नदिएको आरोप लगाएको छ। विकासको नाममा नागरिकलाई घरबारविहीन बनाउने काम तुरुन्त रोक्न माग गरिएको छ। अलायन्सले डोजर अभियान रोक्न, प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न र क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।
साथै, घटनामा संलग्नमाथि छानबिन गरी कारबाही गर्न पनि आग्रह गरिएको छ। यस्ता कार्यले समाजमा असन्तोष बढ्न सक्ने भन्दै अलायन्सले सरकारलाई सचेत गराएको छ।








