घरेलु विवादपछि अमेरिकामा गोलीकाण्ड, आठ बालबालिकाको मृत्यु

User Image Prime TV News २ हप्ता अगाडि
Image of घरेलु विवादपछि अमेरिकामा गोलीकाण्ड, आठ बालबालिकाको मृत्यु

काठमाडौ । अमेरिकाको लुइसियाना राज्यको श्रेभपोर्ट सहरमा भएको गोलीकाण्डमा आठ बालबालिकाको मृत्यु भएको छ। मारिएका मध्ये सात जना आरोपितका आफ्नै छोराछोरी रहेका छन्। यो घटना आइतबार बिहान स्थानीय समयअनुसार करिब ६ बजे वेस्ट ७९औँ स्ट्रिटको एक घरमा भएको हो। प्रहरीले ३१ वर्षीय शमार एल्किन्सलाई आरोपितका रूपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार सुरुमा सात बालबालिकालाई घरभित्रै गोली हानिएको थियो। एक बालक भने ज्यान जोगाउन भाग्ने क्रममा छतमा पुगेका बेला गोली लागेर मृत्यु भएको हो। घटनामा असल्ट–स्टाइल हतियार प्रयोग गरिएको बताइएको छ।

मृतक बालबालिकामध्ये तीन बालक र पाँच बालिका छन्। उनीहरूमा तीन वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिका रहेका छन्। तीमध्ये धेरैजना एकै परिवारका दाजुभाइ–दिदीबहिनीका सन्तान भएको जनाइएको छ।

घटनामा १३ वर्षीय एक बालक घाइते भएका छन्। उनी घरबाट भाग्दै छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए। प्रहरीका अनुसार आरोपितले यसअघि आफ्नी श्रीमतीमाथि पनि गोली चलाएका थिए। ती महिला गम्भीर घाइते छन्। त्यसपछि उनले अर्को घरमा गएर बालबालिका र अर्की एक महिलामाथि आक्रमण गरेको बताइएको छ। ती महिलाको अवस्था पनि गम्भीर रहेको छ।

प्रहरीले घटनालाई घरेलु विवादसँग सम्बन्धित भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। यो घटना यस वर्ष अमेरिकामा भएका सबैभन्दा ठूलो सामूहिक गोलीकाण्डमध्ये एक मानिएको छ।