आईपीएलमा केकेआर को रोमाञ्चक जित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत आइतबार भएको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले रोमाञ्चक जित निकालेको छ। ईडेन गार्डन्समा भएको खेलमा केकेआरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको हो।
१५६ रनको लक्ष्य पछ्याएको केकेआरको सुरुआत कमजोर रह्यो। सुरुमै दुई विकेट गुमाएको टोली ८५ रन पुग्दा ६ विकेट गुमाएर दबाबमा परेको थियो। त्यसपछि जित्ने सम्भावना निकै कम देखिएको थियो। तर रिंकू सिंह र अनुकूल रोयले जिम्मेवार ब्याटिङ गर्दै खेललाई बदलिदिए। उनीहरूले अविजित ७६ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए।
रिंकू सिंहले ३४ बलमा ५३ रन बनाए भने अनुकूल रोय २९ रनमा अविजित रहे। यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा १५५ रन बनाएको थियो। तर अन्तिम ओभरसम्म पुगेको खेलमा उसले आफ्नो अग्रता जोगाउन सकेन। अन्तिम दुई ओभरमा केकेआरलाई २१ रन आवश्यक थियो। १९औँ ओभरमा महत्वपूर्ण रन बनेपछि खेल कोलकातातर्फ मोडिएको थियो। अन्तिम ओभरमा आवश्यक रन पूरा गर्दै केकेआरले शानदार जित हात पारेको हो।
यस जितसँगै केकेआरले सिजनको सुरुआतमा आत्मविश्वास बढाएको छ भने राजस्थान रोयल्सलाई नजिक पुगेको जित गुमाउनु परेको छ।







