पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन उनेपाको सरकारसँग माग
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्।
कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीका नागरिकलाई इन्धनमा विशेष सहुलियत दिनुपर्ने बताए।
उनका अनुसार कर्णालीको भौगोलिक अवस्था विकट भएकाले यातायात तथा ढुवानी खर्च बढी लाग्ने भएकाले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि उचित नभएको हो। उनले छिमेकी देश भारतमा इन्धनको मूल्य स्थिर रहेको उदाहरण दिँदै नेपालमा पनि नागरिकमाथि थप आर्थिक भार नपार्न सरकारलाई आग्रह गरे।
घिसिङले सरकारलाई काम गर्न सहयोग गर्ने बताए। साथै कर्णालीमा विद्युत् विस्तार र ट्रान्समिसन लाइनका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको जानकारी दिए। उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म अघि बढिरहेको छ।
पार्टी संगठन विस्तारका क्रममा घिसिङले आगामी चुनावमा उनेपा बलियो पार्टीका रूपमा अघि आउने दाबी गर्दै वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको पनि बताए।







