बुढीगण्डकी आयोजना ‘गेम चेन्जर’ बन्न सक्छ : डा. बाबुराम भट्टराई

User Image Prime TV News २ हप्ता अगाडि
Image of बुढीगण्डकी आयोजना ‘गेम चेन्जर’ बन्न सक्छ : डा. बाबुराम भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलाशययुक्त आयोजनालाई पुनः अघि बढाउने सरकारको पहललाई स्वागत गरेका छन्। उनले यो आयोजनालाई देशको ऊर्जा परियोजना मात्र नभई आर्थिक रूपान्तरण गर्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले लामो समयदेखि रोकिएको यो राष्ट्रिय गौरवको आयोजना अघि बढ्न थालेकोमा खुसी व्यक्त गरे। उनका अनुसार बुढीगण्डकी आयोजना १२०० मेगावाट विद्युत उत्पादन गर्ने मात्र नभई नेपालको विकासको ‘गेम चेन्जर’ बन्न सक्छ।

भट्टराईले यो आयोजना काठमाडौं, पोखरा र भरतपुरजस्ता ठूला सहरको बीचमा पर्ने भएकाले यसले औद्योगिक विकास, नयाँ सहर निर्माण, पर्यटन र यातायात पूर्वाधार विस्तारमा ठूलो योगदान दिन सक्ने बताए। उनले अमेरिकाको टेनेसी भ्याली र चीनको थ्री गर्जेज ड्याम जस्ता उदाहरण दिँदै बुढीगण्डकीलाई पनि उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए।

त्यस्तै, उनले आयोजना नेपाल विद्युत प्राधिकरणमार्फत मात्र होइन, छुट्टै ऐनमार्फत गठन हुने “बुढीगण्डकी जलाधार विकास प्राधिकरण” जस्तो शक्तिशाली संस्थाबाट अघि बढाउनुपर्ने बताए। अन्यथा परियोजना फेरि ढिलाइ वा असफल हुन सक्ने उनको चेतावनी छ।

भट्टराईका अनुसार फेवातालभन्दा करिब १५ गुणा ठूलो जलाशय बन्ने भएकाले यसले नयाँ सहर, चक्रपथ, उद्योग र पर्यटन विकासमा ठूलो परिवर्तन ल्याउन सक्छ। उनले वर्तमान सरकारमा इन्जिनियर प्रधानमन्त्री र सम्बन्धित क्षेत्रका नेतृत्व भएकाले यो परियोजना सफल बनाउन उपयुक्त अवसर भएको पनि उल्लेख गरेका छन्।