कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौ । नेपाली कांग्रेसले यहि असोज २६ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन्। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।
बैठक भदौ २३ गतेको जेनजी आन्दोलन पछिको पहिलो केन्द्रीय तहको बैठक हो। बैठकमा जेनजी आन्दोलन पछि उत्पन्न राजनीतिक परिस्थिति, निर्वाचनका साथ पार्टी नेतृत्व परिवर्तन वा पुर्तान्तरणका बिषयमा छलफल हुने बताइएको छ ।
भदौ २४ गते आन्दोलनकारीहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपा, सभापति शेरबहादुर देउवाको निवास तथा अन्य नेताहरूको घरमा तोडफोड र आगजनी गरेका थिए। सो घटनामा सभापति देउवा घाइते भएका छन् र उनको टाउकोमा १२ वटा टाँका लगाइएको थियाे । अहिले उनीहरुको स्वास्थ्य अबस्था सामान्य भएको बताइएको छ ।
यसबीच, कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग चुलिँदै गएको छ। पार्टीका दुई महामन्त्री—गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व फेरिनुपर्ने धारणा राख्दै आएका छन्।
असोज ३ गते पार्टीको कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशन २०८२ सालको मंसिर मसान्तभित्रै गर्न सकिने बताएका थिए। साथै, उक्त विषयमा निर्णय आगामी केन्द्रीय कार्यसमिति बैठकमार्फत गर्नुपर्ने प्रस्ताव उनले अघि सारेका थिए।