रास्वपाका मन्त्रीहरू एकपछि अर्को विवादमा, गृहमन्त्री गुरुङमाथि पनि प्रश्न

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपाका मन्त्रीहरू एकपछि अर्को विवादमा, गृहमन्त्री गुरुङमाथि पनि प्रश्न

काठमाडौ । “जान्नेलाई छान्ने” नारा दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू सरकार बनेको एक महिनाभित्रै विवादमा तानिन थालेका छन्। अहिलेसम्म तीन जना मन्त्री विवादमा मुछिएका छन्। तीमध्ये एक जनाले पद गुमाइसकेका छन् भने अर्की एक मन्त्रीलाई पार्टीले सचेत गराएको छ।

सबैभन्दा पहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साह विवादमा परेका थिए। नियुक्त भएको केही समयमै विवाद बढेपछि उनलाई चैत २६ गते पार्टीले फिर्ता बोलाएको थियो र प्रधानमन्त्रीले पदमुक्त गरेका थिए। त्यसपछि रामजी यादव नयाँ श्रममन्त्री बनेका छन्।

त्यसैगरी स्वास्थ्य मन्त्री निशा मेहता पनि विवादमा परिन्। स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति सम्बन्धी निर्णयमा अनियमित दबाब दिएको आरोप लागेपछि रास्वपाले उनलाई सचेत गराएको थियो। यी घटनापछि अहिले गृहमन्त्री सुधन गुरुङ पनि विवादमा तानिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका दीपक भट्टसँग उनको सम्बन्ध रहेको भन्दै प्रश्न उठेको छ।

गुरुङको नाम ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ को सेयर लगानीकर्तामा देखिएको बताइएको छ। सो कम्पनीमा दीपक भट्ट र सुलभ अग्रवाल पनि जोडिएका छन्, जो अहिले अनुसन्धानको दायरामा छन्। तर गुरुङले आफ्नो सम्पत्ति विवरणमा उक्त सेयर उल्लेख नगरेको विषय पनि उठाइएको छ।

यसअघि फेवाताल जग्गा प्रकरणमा पनि गुरुङको नाम जोडिएको थियो, तर त्यो विवाद पछि सेलाएको थियो। रास्वपाका मन्त्रीहरू लगातार विवादमा तानिन थालेपछि सरकारभित्र उनीहरूको पारदर्शिता र कार्यशैलीबारे प्रश्न उठ्न थालेको छ।