सेयर बजारमा गिरावट, नेप्से १३ अंकले घट्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। नेप्से १३.१७ अंकले घट्दै २८२५ अंकमा झरेको हो। कारोबार सुरु भएको केही मिनेटमै नेप्से २८४५ अंकसम्म पुगेको थियो, जुन आजको उच्च विन्दु रह्यो। तर त्यसपछि बजार लगातार घट्दै अन्त्यमा तल झरेको हो।
अघिल्लो दिन नेप्से ५ अंकले बढेको थियो। तर आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ५ अर्ब ४३ करोड रुपैयाँमा सीमित भयो। आज कुल ६५ कम्पनीको सेयर मूल्य बढ्यो भने १९७ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकमा होटल तथा पर्यटन समूह मात्र बढेको देखियो, जुन १.०१ प्रतिशतले बढ्यो। बाँकी सबै समूह घटेका छन्। बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७० प्रतिशतले घटे। त्यस्तै हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूह पनि सामान्य रूपमा घटेका छन्। आज केही कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म बढेको छ।
नयाँ नियमअनुसार मूल्य १५ प्रतिशतसम्म बढ्न सक्ने व्यवस्था लागू भएपछि चार कम्पनीको सेयरमा यस्तो वृद्धि देखिएको हो। १५ प्रतिशत बढ्ने कम्पनीमा सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर रहेका छन्। त्यस्तै झापा इनर्जी ११.८८ प्रतिशत, रिजलाइन इनर्जी १०.९९ प्रतिशत र सुपर खुदी हाइड्रोपावर ५.३५ प्रतिशतले बढेका छन्।
सबैभन्दा धेरै घट्ने कम्पनीमा दोल्ती पावर ५.३५ प्रतिशत र एसियन हाइड्रोपावर ४.५० प्रतिशत रहेका छन्। आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्।







