गृहमन्त्री गुरुङबारे स्पष्ट पार्न राप्रपा अध्यक्ष लिङ्देनको माग
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङ बारे उठेका विवादमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीको नाम व्यवसायी दीपक भट्टसँग जोडिएको विषयमा सरकार र सम्बन्धित पार्टीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
लिङ्देनले सञ्चारमाध्यममा आएका विषयलाई लिएर सुशासनको कुरा गर्ने सरकारले चुप लाग्न नहुने बताएका छन्। उनले गृहमन्त्री र सत्तारुढ दल दुवैले आफ्नो स्थिति स्पष्ट पार्नुपर्ने बताएका छन्। भट्टसँग सम्बन्धित ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गृहमन्त्रीको सेयर रहेको खबर सार्वजनिक भइरहेका बेला उनले यस्तो माग गरेका हुन्।
अध्यक्ष लिङ्देनले सरकारको कामप्रति आलोचना गर्दै स्टन्ट का भरमा देश चल्न नसक्ने बताएका छन्। त्यस्तै, सडकछेउका घरटहरा हटाउने कामप्रति पनि उनले आपत्ति जनाएका छन्। उनले यस्तो कामले सर्वसाधारणलाई दुःख दिने र डरको वातावरण सिर्जना गर्ने बताएका छन्।







