गृहमन्त्री गुरुङको सेयर लगानी स्पष्टीकरणपछि थप प्रश्न उठ्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले सेयर बजारमा गरेको लगानी ऋणमार्फत भएको दाबी गरे पनि त्यसबारे थप प्रश्नहरू उठेका छन्। उनले लिखित तमसुकका आधारमा २०८० भदौ २९ गते ऋण लिएर सेयरमा लगानी गरेको र सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको बताएका छन्।
तर सो ऋण आफ्नो सम्पत्ति विवरणमा उल्लेख नभएको विषय बाहिरिएपछि विवाद बढेको हो। सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो सम्पत्ति र दायित्व स्पष्ट रूपमा विवरणमा देखाउनुपर्ने नियम भए पनि उक्त ऋण नदेखिनु प्रश्नको विषय बनेको छ।
गुरुङले सबै वित्तीय कारोबार पारदर्शी रहेको दाबी गर्दै बैंक र कागजातमा सबै विवरण स्पष्ट हुने बताएका छन्। तर आलोचकहरूले भने विवरणमै ऋण नदेखिनु गम्भीर विषय भएको बताएका छन्। यसैबीच, व्यवसायीहरूसँगको सम्बन्धबारे पनि प्रश्न उठिरहेका छन्। गृहमन्त्रीले स्पष्टीकरण दिए पनि त्यसले सबै शंका हटाउन नसकेको बताइएको छ।
यो विषय अब थप छानबिनको मागसहित राजनीतिक बहसको केन्द्रमा पुगेको छ।











