प्रधानमन्त्री बालेन शाहको कडा निर्देशन: विश्वविद्यालयबाट दलीय संगठन हटाउनैपर्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री शाहले शैक्षिक संस्थामा कुनै पनि राजनीतिक गतिविधि स्वीकार्य नहुने स्पष्ट गर्दै दलीय संगठन हटाउने निर्णय कुनै कानुनले रोक्न नसक्ने बताएका छन्। उनका अनुसार क्याम्पस, अस्पताल र विद्यालयजस्ता शैक्षिक संस्थामा राजनीतिक दलको झण्डा वा संगठन राख्न नदिइनेछ। राजनीति गर्न चाहनेले शैक्षिक जिम्मेवारीबाट अलग हुनुपर्ने उनको भनाइ छ।
छलफलमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले विद्यार्थी संगठन हटाउने क्रममा धम्की र आक्रमणको सामना गर्नुपरेको गुनासो गरेका थिए। जवाफमा प्रधानमन्त्री शाहले सुरक्षा चुनौती भए तुरुन्त सरकारलाई जानकारी दिन निर्देशन दिएका छन्। उनले सुरक्षा र प्रशासनिक सहयोग सरकारबाट पूर्ण रूपमा उपलब्ध हुने पनि बताएका छन्।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले केही क्याम्पसमा अझै विद्यार्थी राजनीतिक तनाव रहेको बताएका छन्। अन्य उपकुलपतिहरूले भने प्रशासन कडा भएमा शैक्षिक संस्थामा राजनीति अन्त्य गर्न सकिने विश्वास व्यक्त गरेका छन्।







