उदयपुरमा आगलागीबाट दुईको मृत्यु, करिब ६३ लाखको क्षति

User Image Prime TV News २ हप्ता अगाडि
Image of उदयपुरमा आगलागीबाट दुईको मृत्यु, करिब ६३ लाखको क्षति

उदयपुर । चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा गएराति भएको भीषण आगलागीमा परी दुई जनाको जलेर मृत्यु भएको छ भने करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राति करिब सवा ३ बजे बिजुलीको तार सर्ट भई आगलागी सुरु भएको थियो। आगलागीमा परी स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र उनका ३० वर्षीय नाती पवन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरू सुतिरहेको अवस्थामा आगो फैलिँदा जोगिन नसकेको बताइएको छ।

आगलागीमा अस्मिता खड्का घाइते भएकी छन्। उनको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार आगलागीबाट रवि कुमार दासको काठको घर र किराना पसल जलेर करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यसैगरी पदम खड्काको घर तथा दुई वटा खसीसहित करिब ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

यसैबीच, सोही घरमा सञ्चालनमा रहेका विभिन्न साना व्यवसायहरू पनि आगलागीबाट प्रभावित भएका छन्। मित्र थापा मगरको स्टेशनरी पसलमा करिब ६ लाख, होमबहादुर परियारको ट्रेलरमा करिब २ लाख तथा मैया पौडेलको चटपटे पसल र अन्य सामानमा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी नायव उपरीक्षक निरञ्जन थापाको नेतृत्वमा खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा मंगलबार बिहान ५:३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि बेल्टारस्थित नगर अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।