“स्पष्टीकरण…”–पूर्वमन्त्री साहको एक शब्दले उठायो सरकारको निर्णय प्रक्रियामाथि प्रश्न

User Image Prime TV News २ हप्ता अगाडि
Image of “स्पष्टीकरण…”–पूर्वमन्त्री साहको एक शब्दले उठायो सरकारको निर्णय प्रक्रियामाथि प्रश्न

काठमाडौ । पूर्व श्रममन्त्री दीपक साहले सामाजिक सञ्जालमा लेखेको एक शब्द–“स्पष्टीकरण…”यतिबेला राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। छोटो तर अर्थपूर्ण यो अभिव्यक्तिले वर्तमान सरकारको निर्णय प्रक्रियामा देखिएको भिन्नतामाथि प्रश्न उठाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले केही समयअघि साहलाई मन्त्री बनेको १४ दिनमै पदमुक्त गरेका थिए। आफ्नो प्रभाव प्रयोग गरेर श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा जागिर दिलाएको भन्ने शाहलाई आरोप लागेको थियो । साहले त्यसबेला सार्वजनिक रूपमा गुनासो गर्दै आफूलाई कुनै किसिमको स्पष्टीकरण दिने अवसरसमेत नदिइएको बताएका थिए।

तर अहिले गृहमन्त्री सुधन गुरुङ भने अझ गम्भीर प्रकृतिको विवादमा तानिएका छन्। सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका एक व्यवसायीसँग उनको साझेदारी रहेको खुलेपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म प्रश्न उठिरहेका छन्। उनको सम्पत्तिको स्रोत र सम्बन्धबारे स्पष्टता माग भइरहेको छ।

यद्यपि, यस प्रकरणमा प्रधानमन्त्री शाहको प्रतिक्रिया भने तत्काल कडा देखिएको छैन। गृहमन्त्रीसँग लिखित स्पष्टीकरण मागिएको हुनसक्ने चर्चा चले पनि यसको आधिकारिक पुष्टि भएको छैन। तत्काल बर्खास्तीको संकेत पनि देखिएको छैन।

यही सन्दर्भमा पूर्वमन्त्री साहको “स्पष्टीकरण…” भन्ने स्टाटसलाई धेरैले संकेतात्मक सन्देशका रूपमा लिएका छन्। आफूलाई यस्तो अवसर नदिइएको तर अहिले अर्का मन्त्रीलाई सम्भावित रूपमा दिइँदै गरेको प्रक्रिया प्रति उनको असन्तुष्टि यसबाट झल्किएको विश्लेषण भइरहेको छ। एउटै सरकारअन्तर्गत फरक–फरक व्यक्तिलाई फरक मापदण्ड लागू गरिएको हो कि भन्ने बहस चर्किंदो छ।

यस विषयमा सरकारका तर्फबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन। तर सामाजिक सञ्जालमा भने “स्पष्टीकरण” शब्द नै अहिले राजनीतिक बहसको केन्द्र बन्न पुगेको छ।