नेपाल–अमेरिका सम्बन्ध बलियो बनाउन कपुरको उच्चस्तरीय भेटघाट
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस. पल कपुरले मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। सिंहदरबारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ बलियो बनाउने र व्यापार तथा लगानी बढाउने विषयमा कुराकानी भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार दुवै पक्षले आपसी सहकार्य बढाउने र नयाँ क्षेत्रमा काम गर्ने सम्भावनाबारे छलफल गरेका छन्। कपुर हालको बालने शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने उच्च तहका पहिलो अमेरिकी अधिकारी हुन्। त्यसैले उनको भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
यसअघि सोमबार उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग पनि भेट गरेका थिए। भेटपछि कपुरले नेपाल–अमेरिका सहकार्यका क्षेत्रबारे राम्रो छलफल भएको बताएका थिए। त्यसैदिन उनले अमेरिकी व्यवसायीहरूसँग नेपालको आईसीटी क्षेत्रमा लगानी बढाउने विषयमा पनि कुरा गरेका थिए। डिजिटल पूर्वाधार सुधार, एआईको प्रयोग, र साइबर सुरक्षा मजबुत बनाउने विषयमा छलफल भएको जनाइएको छ।
कपुरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशिया मामिला हेर्ने जिम्मेवारी दिएका हुन्। उनको भ्रमणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले सँग पनि भेट हुने कार्यक्रम रहेको छ। यो भ्रमणले नेपाल–अमेरिका सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ।







