एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन: नेपालमा मानवअधिकार अवस्था अझै चिन्ताजनक

User Image Prime TV News २ हप्ता अगाडि
Image of एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन: नेपालमा मानवअधिकार अवस्था अझै चिन्ताजनक

काठमाडौ । एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले नेपालमा मानवअधिकारको अवस्था अझै पनि चुनौतीपूर्ण रहेको देखाएको छ।

सन् २०२५ को घटनाहरूको विश्लेषण गरिएको उक्त प्रतिवेदनमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने अधिकारमा क्रमशः कमी आउँदै गएको उल्लेख छ। साथै, सरकारका केही कदमले नागरिकका अधिकारहरू संकुचित भएको संकेत गरिएको छ।

प्रतिवेदनले संक्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइलाई मुख्य समस्याका रूपमा उठाएको छ। द्वन्द्वपीडितहरूले अझै सत्य, न्याय र क्षतिपूर्ति नपाएको कारण दण्डहीनता बढिरहेको निष्कर्ष निकालिएको छ। त्यस्तै, देशका कारागारहरूमा कैदीबन्दीहरूको आधारभूत अधिकार कमजोर रहेको, जातीय विभेद र लैङ्गिक हिंसा यथावत रहेको तथा आदिवासी जनजातिहरूको अधिकार र थातथलोमा समस्या कायम रहेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक र सामाजिक अधिकारको क्षेत्रमा पनि अवस्था सन्तोषजनक नभएको बताइएको छ। विशेषगरी आवासको अधिकार कार्यान्वयन गर्न सरकार असफल भएको प्रतिवेदनको निष्कर्ष छ। विदेशमा काम गर्न जाने नेपाली श्रमिकहरू ठगी, शोषण र असुरक्षित अवस्थाको जोखिममा परेको विषय पनि प्रतिवेदनले गम्भीर रूपमा उठाएको छ।

एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारलाई शान्तिपूर्ण प्रदर्शनलाई अपराध नबनाउन र मानवअधिकार उल्लङ्घनका घटनामा जिम्मेवारी सुनिश्चित गर्न आग्रह गरेको छ। समग्रमा प्रतिवेदनले नेपालमा मानवअधिकार सुधारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता देखाएको छ।