गृहमन्त्री गुरुङ सँग स्पष्टीकरण मागेको भन्ने चर्चा गलत भएको प्रधानमन्त्री सचिवालयको भनाई

User Image Prime TV News २ हप्ता अगाडि
Image of गृहमन्त्री गुरुङ सँग स्पष्टीकरण मागेको भन्ने चर्चा गलत भएको प्रधानमन्त्री सचिवालयको भनाई

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुदन गुरुङ सँग स्पष्टीकरण मागेको भन्ने चर्चा गलत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार अहिलेसम्म गृहमन्त्रीलाई कुनै पनि लिखित स्पष्टीकरण मागिएको छैन। यसबारे आएका समाचारहरू भ्रमपूर्ण भएको पनि बताइएको छ।

गृहमन्त्री गुरुङ हाल व्यवसायी दीपक भट्टसँग सम्बन्ध रहेको विषय बाहिर आएपछि विवादमा परेका छन्। भट्ट सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालमा गृहमन्त्रीको राजीनामा माग समेत उठेको छ।

तर प्रधानमन्त्रीले अहिलेसम्म कुनै निर्णय वा कारबाही नगरेको सचिवालयले स्पष्ट पारेको छ। विषयमा प्रधानमन्त्रीको ध्यान गएको भए पनि औपचारिक प्रक्रिया अघि नबढेको बताइएको छ। सचिवालयका अनुसार पूर्व उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि बनेको आयोगले यस्ता विषय हेर्ने व्यवस्था छ। त्यसैले गृहमन्त्रीको सम्पत्तिबारे पनि सोही आयोगले आवश्यक छानबिन गर्ने बताइएको छ।

गृहमन्त्रीको सचिवालयले भने आवश्यक परे स्पष्टीकरण दिन तयार रहेको तर अहिलेसम्म कुनै औपचारिक माग नआएको जनाएको छ। यसबीच गृहमन्त्रीलाई लिएर राजनीतिक बहस र सामाजिक सञ्जालमा चर्चा भने जारी छ।