एमाले स्थापना दिवसको ब्यानरमा संस्थापक नेताहरू मात्र, ओलीको तस्वीर नदेखिएपछि चर्चा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले पार्टी स्थापना दिवसका लागि तयार पारेको ब्यानरमा यसपटक संस्थापक नेताहरूको मात्रै तस्वीर राखिएको छ। महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाललगायत संस्थापक नेताहरूको तस्वीर समावेश छ। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीर भने राखिएको छैन।
यसअघि एमालेका अधिकांश ब्यानरमा अध्यक्ष ओलीको तस्वीर अनिवार्य रूपमा देखिने गरेको थियो। तर यसपटकको ब्यानरमा त्यो परम्परा तोडिएको देखिएको छ। पार्टी स्रोतका अनुसार भोलि मनाइने स्थापना दिवसमा अध्यक्ष ओली आउने वा नआउनेबारे पनि अझै टुंगो लागेको छैन।
“केही नेताहरूले सम्बोधन गरेर सामान्य रूपमा कार्यक्रम गर्ने तयारी भइरहेको छ। तर वक्ताहरू को–को हुने भन्ने निर्णय भएको छैन,” एमाले स्रोतले जनाएको छ। अघिल्ला वर्षहरूमा एमालेले स्थापना दिवसलाई भव्य कार्यक्रमका रूपमा मनाउँदै आएको थियो। तर यसपटकको तयारी भने तुलनात्मक रूपमा सामान्य देखिएको छ।







