सेयर बजारमा ठूलो चलखेलको आरोप, एउटै व्यक्ति टिएमएस नियन्त्रणमा रहेको खुलासा

User Image Prime TV News २ हप्ता अगाडि
Image of सेयर बजारमा ठूलो चलखेलको आरोप, एउटै व्यक्ति टिएमएस नियन्त्रणमा रहेको खुलासा

काठमाडौ । सेयर बजारमा ठूलो स्तरको अनियमितता भएको आशंका गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदन अनुसार व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल लगायतको समूहले सेयर बजारमा कृत्रिम कारोबार र मूल्य चलखेल गरेको देखिएको छ। साथै केही ब्रोकर र कम्पनीहरूको अनलाइन कारोबार प्रणाली (TMS) एउटै व्यक्तिले चलाउने गरेको पनि पाइएको छ।

सेबोनको प्रतिवेदनमा भृकुटी स्टक ब्रोकिङ्गमार्फत नियमविपरीत ठूलो मात्रामा सेयर कारोबार गरिएको उल्लेख छ। दीपक भट्टले ३ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर खरिद गरे पनि करिब २ अर्ब ८९ करोड रुपैयाँ अझै भुक्तानी नभएको देखिएको छ।

त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य योजनाबद्ध रूपमा बढाएर बजारमा असर पारिएको आरोप पनि प्रतिवेदनमा छ। मूल्य १४६१ रुपैयाँबाट १६८६ रुपैयाँसम्म पुर्‍याउन विभिन्न कम्पनी र खाताहरू प्रयोग गरिएको बताइएको छ।

प्रतिवेदनले दीपक भट्टलाई मुख्य योजनाकारका रूपमा देखाएको छ। साथै सुलभ अग्रवाल, शुभी अग्रवाल, राज बहादुर शाह, ऋषिराज मोर लगायतका व्यक्तिहरू पनि यस प्रकरणमा संलग्न भएको उल्लेख गरिएको छ।

सेबोनका अनुसार केही कम्पनीहरूबीच झुटा कारोबार गरेर पैसा एक ठाउँबाट अर्को ठाउँमा सार्ने र व्यक्तिगत लाभ लिने काम भएको देखिएको छ। सेबोनले यो विषयमा थप अनुसन्धान आवश्यक रहेको जनाएको छ।