हर्क साम्पाङले दिए सरकारलाई ३३ बुँदे सुझाव
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन्। उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्ना सुझाव सार्वजनिक गरेका हुन्। साम्पाङले नेपालले विदेशी हस्तक्षेपबाट टाढा रहनुपर्नेमा जोड दिएका छन्।
उनले एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिक सम्झौता गर्न नहुने बताएका छन्। साथै छिमेकी देशहरूसँग नियमित छलफल र सीमा निगरानी आवश्यक रहेको उनको सुझाव छ। उनले नेपाली सेनालाई सीमा सुरक्षामा थप सक्रिय बनाउने, आधुनिक प्रविधिको प्रयोग गर्ने र प्राकृतिक स्रोतको सही उपयोग गरेर देशलाई आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको बताएका छन्।
आर्थिक क्षेत्रमा उनले नुन, तेल र पेट्रोलियम जस्ता आधारभूत वस्तुको मूल्य स्थिर र सस्तो राख्नुपर्ने सुझाव दिएका छन्। शिक्षा क्षेत्रमा साम्पाङले नयाँ प्रणाली प्रस्ताव गरेका छन्। उनका अनुसार हप्तामा ३ दिन मात्र किताबी पढाइ र ४ दिन श्रम, सीप तथा उत्पादनमूलक काममा आधारित शिक्षा दिनुपर्छ।
कृषिलाई शिक्षा र उद्योगसँग जोडेर विकास गर्नुपर्ने, सिँचाइ, मल र बीउ किसानलाई सहज रूपमा उपलब्ध गराउनुपर्ने पनि उनको सुझाव छ। उनले “एक परिवार, एक रोजगार” नीति लागू गर्नुपर्ने माग गरेका छन्। साथै स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र भ्रष्ट तथा काम नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउनुपर्ने पनि उनले बताएका छन्।
साम्पाङले युवा पुस्ताको भावना अनुसार नीति बनाउन छुट्टै आयोग गठन गर्न सरकारलाई सुझाव दिएका छन् ।










