महाभियोग प्रक्रिया ५ महिनाभित्र टुंग्याउने नयाँ व्यवस्था प्रस्ताव

User Image Prime TV News २ हप्ता अगाडि
Image of महाभियोग प्रक्रिया ५ महिनाभित्र टुंग्याउने नयाँ व्यवस्था प्रस्ताव

काठमाडौ । प्रतिनिधिसभामा संवैधानिक अंगका प्रमुख वा सदस्यविरुद्ध दर्ता हुने महाभियोग प्रस्ताव अब अधिकतम ५ महिनाभित्र टुंगो लगाउनुपर्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा नियमावलीको मस्यौदामा यस्तो समयसीमा राखिएको हो। मस्यौदा समितिले तयार पारेको नियमावली सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी गरेको छ । 

समिति सदस्यहरूका अनुसार विगतमा महाभियोग प्रस्ताव दर्ता भए पनि लामो समयसम्म निष्कर्षमा नपुग्ने समस्या देखिएकाले यसलाई रोक्न समयसीमा राखिएको हो। यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग पनि निष्कर्षमा पुग्न सकेको थिएन। त्यही अनुभवका आधारमा नयाँ व्यवस्था ल्याइएको बताइएको छ।

नयाँ नियम अनुसार महाभियोग प्रस्ताव आएपछि प्रक्रिया तुरुन्त अघि बढाइनेछ। संसद अधिवेशन चलिरहेको भए तत्काल छलफल हुनेछ। अधिवेशन नरहेको अवस्थामा १५ दिनभित्र बैठक बोलाउनुपर्नेछ। त्यसपछि महाभियोग सिफारिस समिति गठन गरी छानबिन गर्ने व्यवस्था छ। समितिले बढीमा ३ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।

प्रतिवेदनपछि प्रतिनिधिसभामा छलफल, संशोधन र मतदान प्रक्रिया पूरा गरेर कुल ५ महिनाभित्र निर्णय गर्नुपर्नेछ। महाभियोग पारित हुन प्रतिनिधिसभाको कुल सदस्य संख्याको दुई तिहाइ बहुमत आवश्यक पर्नेछ। पारित भए सम्बन्धित पदाधिकारी पदबाट हटाइनेछ। समिति सदस्यहरूका अनुसार यो व्यवस्था संसदमा महाभियोग प्रक्रियालाई ढिला नगरी छिटो टुंगो लगाउने उद्देश्यले ल्याइएको हो।