जेनजी मुभमेन्टद्वारा गृहमन्त्रीमाथि अनुसन्धान र कारबाहीको माग
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धान गर्न माग गर्दै उनलाई पदबाट हटाएर पक्राउ गर्नुपर्ने भन्दै प्रहरीमा निवेदन दिएको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गरेर अनलाइनमार्फत निवेदन पठाइएको जानकारी दिएका छन्।
निवेदनमा गृहमन्त्री पदमा रहँदा छानबिन प्रभावित हुन सक्ने भएकाले उनी पदमै रहँदा निष्पक्ष अनुसन्धान सम्भव नहुने दाबी गरिएको छ। त्यसैले उनलाई तत्काल पदबाट हटाएर हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।
जेनजी मुभमेन्टले गृहमन्त्रीमाथि आन्दोलनलाई प्रभावित पार्ने, हिंसात्मक बनाउने प्रयास गर्ने र व्यक्तिगत लाभका लागि बिचौलियासँग मिलेमतो गरेको जस्ता आरोप पनि लगाएको छ। यी कार्यले आन्दोलनका शहीद र सहभागीहरूको अपमान भएको उनीहरूको दाबी छ।
मुभमेन्टले मुख्य चार माग अघि सारेको छ । जसमा गृहमन्त्रीलाई पदबाट हटाउने, पक्राउ गरी हिरासतमा राख्ने, निष्पक्ष र समयमै अनुसन्धान गर्ने र अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । उनीहरूले प्रहरी ऐन २०१२ र फौजदारी कार्यविधि संहिता २०७४ अनुसार तत्काल कारबाही अघि बढाउन पनि माग गरेका छन्।
प्रहरीले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।







